काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इङ्गित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गर्नुभएको थियो। अध्यक्ष नेपालले गरेको कार्य विभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
सोही प्रसङ्गलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनुभएको हो । उहाँले अनुशासनको ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनुभयो । नेपालले पार्टीको हित नचाहनेहरू फरक किसिमले चल्ने बताउनुभयो । उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने समेत बताउनुभयो ।