काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ। विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायतलाई थापाले आग्रह गर्नुभएको हो।
महासंघको नेतृत्वमा ३ असोजदेखि शिक्षक सम्बन्ध संगठनहरु प्रदर्शनमा उत्रिएका छन्। सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न महासंघसँग थापाले अनुरोध गर्नुभएको छ।
‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं,विद्यालय बन्द नगरौं,’ थापाले सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो।
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरी भएको उल्लेख गरेका छन्। ‘सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ थापाले शिक्षकहरुलाई सुझाउनु भएको छ ।