काठमाडौं । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था समेटेर निर्माण भएको संविधानको ८ वर्ष पूरा भएको छ । संविधानलाई ८ वर्ष पुग्दा मुलुकमा विभिन्न राजनीतिक उतारचढाव व्याप्त छन् । राजनीतिक घटनाक्रमले कार्यान्वयनको पाटो भन्दा पनि संविधानलाई नै क्षति पुर्याउने खतरा बढेको छ । सर्वसम्मत रुपमा जारी गरिएको संविधान अझैसम्म पनि सर्वस्वीकार्य बन्न नसक्नु विडम्बना बनेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले समाजमा अराजक भिडले संविधानलाई असर पुर्याइरहेको बताउँदै यसको रक्षार्थ लाग्नुपर्ने बताउनुभयो । मुलुकमा विद्यमान विभिन्न समस्याका कारणले संविधान सबैको तारो बन्दै गएको उहाँको भनाइ छ ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली संविधान दिवस नेपाली जनताको साझा राष्ट्रिय दिवस भएकोले सबैका आकाङ्क्षाहरू समेटिएको बताउनुभयो । राष्ट्रिय एकता र सबलताको पक्षमा संविधान भएकोले यसलाई कमजोर पार्ने प्रयास मान्ने नहुने उहाँको भनाइ छ ।
संविधानमा गरिएका परिकल्पनाहरू मध्ये समाजवाद उन्मुख राज्यव्यवस्थातिर ध्यान दिनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ । संविधान परिपूर्ण भएकोले कार्यान्वयन मात्रै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
संविधान दिवसका अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो ।