Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस इतर पक्ष फेरि सक्रिय, देउवालाई दबाब दिने तयारी, अर्को महाअधिवेशनमा बलियो हुन खोजेको संस्थापन पक्षको टिप्पणी(खासखबर)

कांग्रेस इतर पक्ष फेरि सक्रिय, देउवालाई दबाब दिने तयारी, अर्को महाअधिवेशनमा बलियो हुन खोजेको संस्थापन पक्षको टिप्पणी(खासखबर)

  • मंगलवार, आश्विन २ २०८०

  • 511
    SHARES

  • कांग्रेस इतर पक्ष फेरि सक्रिय, देउवालाई दबाब दिने तयारी, अर्को महाअधिवेशनमा बलियो हुन खोजेको संस्थापन पक्षको टिप्पणी(खासखबर)

    काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक संघर्ष पछिल्लो समय निकै उत्कर्षमा छ । कांग्रेस महामन्त्री गगन थापाले पार्टी नेतृत्वसँगको छलफलविना नै गतिविधि गर्दै आउनुभएको छ । महामन्त्री गगन थापाले पार्टी नेतृत्वकै विकल्प खोज्नुपर्ने बताउँदै आउनु भएको छ भने संसदीय दलको नेता पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव राखिरहनु भएको छ । कांग्रेसका एकथरी युवा नेताहरू आफूखुसी देशव्यापी रुपमा पार्टी रूपान्तरण अभियान चलाइरहेका छन् ।

    नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टीभित्र गुटको इतिहास पनि उति नै लामो छ । राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि नेपाली कांग्रेसभित्र गुटको टकराब थियो । तर, बाहिर छताछुल्ल थिएन । नेपाली कांग्रेस स्थापनापछि अहिलेसम्म दुई पटक पार्टीमा ठूला विभाजनसमेत भएका छन् ।

    कांग्रेस स्थापनादेखि नै पार्टीमा मातृका र बीपी गुट जन्मिएका थिए । दुवैको महत्वाकांक्षाका कारण दुई गुटको द्वन्द्व चलेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीमसेनदास प्रधानले महाअधिवेशनका बेलाको लबिङले गुटगत राजनीति झनै मौलाउने गरेको बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वले पनि सबैलाई मिलाएर लैजानुपर्ने बताउँदै अहिले इतर पक्षले गरेको गतिविधिलाई अर्को महाधिवेशनमा बलियो भएर उभिने दाउ भएको टिप्पणी गर्नुभयो ।

    कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई पेलेर जाने नीति अख्तियार गरेसँगै इतर पक्षपनि सक्रिय देखिएको छ । पार्टीका नेता शेखर कोइरालाले बैठक नै आह्वान गरेर नेतृत्वविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । कांग्रेसमा लामो समयदेखि अस्तित्वको लडाईं जारी रहँदा दुई पक्षबीच मतान्तर बढेको छ ।

    आज बसेको कोइराला समूहले नेपाली कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । साथै बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेको सहितका विषयमा छलफल भएको बताउँदै नेता सञ्जय गौतमले कांग्रेस संस्थागत रुपमा अघि बढोस् भन्ने चाहेको प्रष्ट पार्नुभयो ।

    गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल सहित कोइराला समूहका नेता सहभागी हुनुहुन्थ्यो ।

    यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकले ४ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने तथा १५ औं महाधिवेशन समयमै हुनुपर्छ भन्ने विषयमा छलफल गरेको नेता दिलेन्द्र बडूले बताउनुभयो।

    कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहनुभएको छ । यता, केही तल्लो तहका नेताहरूले भने कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्ने बताउने गरेका छन् । देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्ने उनीहरूको मत छ । कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिनुभयो ।

    अहिलेको राजनीतिक अवस्था निकै अप्ठेरो छ । संसद्को सबैभन्दा ठुलो दल कांग्रेस अहिले सरकारमा सहभागी छ । यतिबेला कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाउन सक्नु पर्छ । नेपालको लोकतान्त्रिक छवि बोकेको, पुरानो र ठूलो दल नेपाली कांग्रेसले यो अप्ठेरो अवस्थाबाट देशलाई पार लगाउन गुटगत राजनीति छोडेर दूरगामी निर्णय गर्न सक्नुपर्छ ।।


    मंगलवार, आश्विन २ २०८००८:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij