काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बनाउन ३ करोड मागेकोु आरोपबारे पार्टीको अनुशासन तथा आचरण समितिलाई जवाफ पठाउनुभएको छ । केही दिन पहिले रास्वपाको उक्त समितिले पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्ने भए ३ करोड बुझाउन भन्ने पार्टी नेतृत्वको कोर टिमका व्यक्ति केन्द्रीय सदस्य थापा भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
उक्त प्रकरणको छानबिन राज्यका निकायले गर्दा हुने पनि रास्वपाका नेताहरूले बताउन थालेका छन् । रास्वपा सांसद मनिष झाले पार्टीका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि नेतृत्वको ‘कोर टिम’ लाई ३ करोड बुझाउनुपर्ने प्रकरणको छानबिन राज्यका संयन्त्रले गर्दा आफूलाई राम्रो लाग्ने बताउनुभएको हो। उहाँले उक्त प्रकरणको छानबिन पार्टीको अनुशासन तथा आचरण समितिले गरिरहेको र त्यसमा सार्वजनिक रूपमा प्रश्न उठ्नसक्ने भन्दै राज्यका निकायले नै छानबिन गर्दा राम्रो हुने आफूलाई लागेको बताउनुभएको हो ।
मन्त्री बनाउनका लागि पार्टी नेतृत्वको ‘कोर टिम’ मा रहेका रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको डा. श्रेष्ठले सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा नपरे अर्को कुनै मन्त्री बनाउने पनि ‘कोर टिम’ बाट आश्वासन पाएको श्रेष्ठले दाबी गर्दै आउनुभएको छ ।
पार्टी सभापतिसमेत रहेका तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा पार्नका लागि आग्रह गरेको पनि श्रेष्ठको भनाइ सार्वजनिक भएको छ । डा. श्रेष्ठले पार्टी नेतृत्वको कोर टीम र मन्त्री बन्नका लागि ३ करोड माग भएको कुरा पुनः सार्वजनिक बहसमा ल्याएपछि रास्वपाका महामन्त्री मुकुल ढकालले भदौ २७ मा विज्ञप्ति जारी गर्दै मोहनजंग थापामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको थियो ।