काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्मै चल्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले सत्ता गठबन्धनमा समान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको भन्दै यहि सरकार पाँचै वर्ष चल्ने सम्भावना रहेको बताउनुभयो।
नेता कोइरालाले भन्नुभयो ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड‘ नेतृत्वको सरकार ५ वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ।’ उहाँले सरकारको स्थायित्व आवश्यक रहेको भन्दै स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताउनुभयो। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने कोइरालाको जोड छ।
विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रचण्ड साधारण व्यक्ति नभएको बताउनुभयो। नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उहाँले जिकिर गर्नुभयो।
सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उहाँले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताउनुभयो। सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो। पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उहाँको आरोप छ। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।