काठमाडौं । नेपालमा संविधान जारी ताका महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय सुवासचन्द्र नेम्बाङलाई कानून व्यवसायीहरुले एक असल अभिभावक गुमाएको बताएका छन् । तत्कालीन समयको कठिन परिस्थितिमा नेम्बाङको भूमिकालाई अविस्मरणिय रुपमा लिनुपर्ने उनीहरुको भनाइ छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संविधान रक्षाका लागि बलियो आवाज भएको बताउनुभएको छ ।
नेम्बाङले राष्ट्रिय एकतालाई जहिलेपनि शीरोपर गरेर अगाडि बढेको भट्टराईको भनाइ छ । उहाँको धरानमा गरेको अन्तिम भाषणपनि राष्ट्रियतामा केन्द्रीत रहेको थियो । विभिन्न राज्य र नेपालकै नाम फेर्नका निम्ति तातेका शक्तिहरु नेम्बाङका अगाडि निरिह भएका थिए । नेम्वाङको अनुपस्थितिमा नेकपा (एमाले)भित्र त्यो आवाजको रिक्तता महसुश हुने उहाँको भनाइ छ ।
पहिलो संविधानसभाले संविधान नलेख्नेस्थिति पैदा भएपछि दोस्रो संविधानसभाको चुनाव भयो त्यसको लिडरसीप नेम्बाङले गौरवपूर्ण रुपमा गरेको नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केशीको अनुभव छ । उहाँ सबैसँग मिलनसार भएका कारण राजनेताको रुपमा स्थापित भएको पनि केशीको भनाइ छ ।
नेम्वाङको योगदानलाई सम्झिँदै पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले संविधान सभाको उपाध्यक्ष र प्रतिनिधि सभामा चार पटकसम्म सभामुखको भूमिका खेलेको स्मरण गर्नुभयो । तनावको बीचमा पनि सहमतीय बाटो निकाल्ने विशिष्ठ क्षमता रहेको बताउँदै ज्ञवालीले राजनीतिक दलहरुबीच हुने असमझदारी र बढ्ने दूरिको समयमा नेम्बाङको अभाव खड्किने बताउनुभयो ।
नेम्बाङलाई विभिन्न राजनीतिक दलका नेताहरुले एक आदर्श पुरुषका रुपमा लिएका छन् । उहाँको समन्वयकारी भूमिकालाई लिएर सबैले प्रशंसा जनाएका छन् । कुनैपनि दलसँग कटुता नभएका नेम्बाङको शालीनता र मृदुभाषीपन सबैले अबलम्बन गर्नुपर्ने नेताहरुको भनाइ छ । राजनीतिक पृष्ठभूमि बोकेका जो कोही व्यक्ति आलोचनाको पात्र बन्नु स्वभाविक हो त्यसमा नेम्बाङ फरक बनिदिएका छन् । पार्टीमा केपी शर्मा ओलीसँग सधैँ निकट भएर काम गर्नुभएका नेम्बाङले पदका लागि कहिल्यै सौदाबाजी गर्नुभएन । ओलीले पनि सधैँ आफ्नो विश्वासपात्रका रुपमा लिइरहनुभयो ।