Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वाम–लोकतान्त्रिक आन्दोलनका अनुयायी सुवासचन्द्र नेम्वाङलाई सम्झिँदा...(खासखबर)

वाम–लोकतान्त्रिक आन्दोलनका अनुयायी सुवासचन्द्र नेम्वाङलाई सम्झिँदा...(खासखबर)

  • मंगलवार, भाद्र २६ २०८०

  • 399
    SHARES

  • वाम–लोकतान्त्रिक आन्दोलनका अनुयायी सुवासचन्द्र नेम्वाङलाई सम्झिँदा...(खासखबर)

    काठमाडौं।संविधानसभाका अध्यक्ष,वाम–लोकतान्त्रिक आन्दोलनका अनुयायी,पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको छ । नेपालको राजनीतिका शालिन, सुसंस्कृत र मृदुभाषी नेम्वाङ कसैसँग बाँझेनन् र बिझाएनन् । समन्वयकारी भूमिकामा तीक्ष्ण क्षमता भएका नेम्वाङ एमालेभित्र मात्रै होइन अन्य दल र पार्टीका लागि पनि कामयावी हुनुहुन्थ्यो ।

    कानूनमा दक्ष नेम्वाङसँग धेरैले सहयोग लिन्थे, परामर्श गर्थे। सदन र संवादबाट सबैखाले राजनीतिक समस्याको हल खोज्ने सहमतीय राजनीति भन्नजस्तो गर्न सजिलो छैन, तर त्यो दक्षता नेम्वाङले देखाउनुभयो । सूर्योदय हुने जिल्ला इलाममा जन्मुभएका नेम्वाङ नामजस्तै सबैका लागि सुवास थिए । संसदमा अन्तिम पटक बोल्नुभएको अंश यस्तो थियो ।

    विद्यार्थी राजनीति, कानून संकायका शिक्षक–शिक्षार्थी, वामपन्थी रुझानका राजनीतिकर्मीका लागि २०३० को दशकबाटै परिचित नाम थियो, सुवासचन्द्र नेम्वाङ । २०४८ र ०५२ मा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका नेम्वाङ २०५१ मा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारका कानूनमन्त्री हुनुहुन्थ्यो ।

    पुनःस्थापित संसदले २०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत तत्कालीन राजाका सबै अधिकार कटौती गरी मुलुकलाई दिगो शान्ति र संविधानसभाको बाटोमा हिँडाएको थियो । जेठ ४ को ऐतिहासिक प्रतिनिधिसभा घोषणापत्रका एक मस्यौदाकार नेम्वाङ स्वयं हुनुहुन्थ्यो । नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिका अतुलनिय रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाइ छ ।

    एमाले विभाजनका बेला २०५६ को आम निर्वाचनमा इलाम– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसदमा उहाँको भूमिका बढेको थियो । २०५६ यताका सबै आमनिर्वाचनमा उहाँले इलाम २ कै प्रतिनिधित्व गर्नुभयो ।

    इलाम क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनदेखि आफूले प्रतिस्पर्धा गरेका कुनै पनि निर्वाचन नहार्ने रेकर्ड बनाउनुभएका नेम्वाङलाई २०८० चैतमा राष्ट्रपतिका लागि गरेको प्रतिस्पर्धामा भने विजयश्री जुरेको थिएन । एमाले नेता केशव बडालले भावविह्वल हुँदै सूर्योदय हुने जिल्लामा जन्मेका सुवासले समाजमा सुवास छरेर गएको बताउनुभयो ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुवास नेम्वाङलाई शालीन, भद्र, मृदुभाषी, समन्वयकारी भूमिकामा पोख्त नेताका रुपमा चित्रण गर्नुभयो । उहाँले आफ्नो लामो संगत भएको सुनाउँदै नेम्वाङ कसैसँग नबिझाएको बताउनुभयो ।

    बृहत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थपिका–संसदको नेतृत्व पनि नेम्वाङले नै गर्नुभयो । दुई पटक निर्वाचित संविधानसभाका अध्यक्ष र सभामुखका रुपमा उहाँको रहँदा उहाँले सहकर्मी सांसदहरुको मात्र होइन, सिंगो मुलुकको मन जित्नुभयो । नेम्वाङको शालिनता, राजनीतिक संस्कार र सुसंस्कृत नेत्वत्व युग युगसम्म बाँचिरहने छ । हार्दिक श्रद्धाञ्जली !

     


    मंगलवार, भाद्र २६ २०८००८:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij