काठमाडौं। नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
नेम्वाङको निधनपछि आज बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङका विशेष योगदानहरुको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ३ दिनसम्मका पार्टी र पार्टीसम्बद्ध सबै जनवर्गीय संगठनका औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
एमालेले ३ दिनसम्म पार्टी केन्द्रीय कार्यालय तथा सबै प्रदेश र जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ। सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो।
यस्तै, असोज २ गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको छ।
प्रतिनिधि सभाका सदस्य एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो। आज बिहान १ः५० अस्पताल पु¥याइएका उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए।
यसैगरि,संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ ।
च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर राखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गर्नुभएको हो । नेम्वाङलाई श्रद्धाञ्जली दिन नेताहरूको बाक्लो उपस्थिति छ ।
नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र भोलि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ हाल इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसद हुनुहुन्छ ।