Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बीपी साहित्य महोत्सवको दोस्रो दिन पनि विज्ञहरूसँग गहकिला बिचार मन्थन हुने 

बीपी साहित्य महोत्सवको दोस्रो दिन पनि विज्ञहरूसँग गहकिला बिचार मन्थन हुने 

  • सोमवार, भाद्र २५ २०८०

  • 404
    SHARES

  • बीपी साहित्य महोत्सवको दोस्रो दिन पनि विज्ञहरूसँग गहकिला बिचार मन्थन हुने 
    काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू बिहान ९ बजेदेखि सुरु भएको छ । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत  गरिएको प्रचार विभागका सदस्य इन्द्र रिजालले जानकारी दिनुभयो । 

    त्यसपछि बिहान ११ बजेदेखि १ घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसको सहजीकरण शंकर तिवारीले गर्नुहुने भएको छ । 

    आजै १२ बजेपछि काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिने भएको छ ।

    दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वपरराष्ट्रमन्त्रीद्धय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीसँग ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयमा पत्रकार सुधीर शर्माले छलफल चलाउनु हुनेछ ।

    आजको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्नुहुने छ भने साँझ गजल साँझमा ३० जना गजलकारहरूले गजल प्रस्तुत गर्नुहुनेछ । 

    नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सव अन्तर्गत डकुमेन्ट्री, कविता, गजल र सांगीतिक प्रस्तुतिहरू पनि रहेका छन् ।


    सोमवार, भाद्र २५ २०८००९:२८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij