काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । भदौ २४ गते भोलि आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखेपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको अगुवाइमा बैठक सञ्चालनको लागि सर्वदलीय बैठक बोलाइएको हो ।
सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएको बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठक प्रदेशसभा सचिवालयमा नै बस्नेछ । पछिल्लो समय प्रदेशसभा बैठक सञ्चालनमा भइरहेको समस्या समाधानका लागि सभामुख पाठकले सबै दलहरूसँग छलफलको तयारी गर्नुभएको हो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा सहमति जुट्न सकेको खण्डमा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुनेछ । गत २ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । गत भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा पनि सरकार र विपक्षी दलहरू बिच सहमति हुन नसकेपछि स्थगित हुँदै आएको छ ।
१८ गतेदेखि हालसम्म गरी प्रदेशसभा बैठक ३ पटक सारिएको छ । १८ गते दिउँसो १ः३० बजेका लागि बोलाइएको बैठक सरकार र विपक्षी दल बिच सहमति कार्यान्वयनको सम्बन्धमा विवाद भएपछि स्थगित गरिएको थियो । निर्धारित समयमा पनि बैठक सञ्चालन नभएपछि सूचना टाँस गरेर उक्त बैठक सोही दिन ४ बजेका लागि बोलाइएको थियो । ४ बजेको बैठक पनि बस्न नसकेपछि सूचना टाँस गरेर २० गते १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।
त्यसबिचमा सरकार र विपक्षी दलहरू बिच भएको पटक पटकको छलफलबाट ठोस निष्कर्ष निस्कन नसकेपछि २० गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर २४ गते बिहान ११ बजेका लागि बोलाइएको थियो । २४ गतेको बैठक पनि चल्न सक्ने अवस्था नदेखिएपछि सभामुख पाठकले सर्वदलीय बैठक बोलाउनुभएको हो ।