काठमाडौं।सर्लाहीमा आज अपरान्ह ४ बजेदेखी निषेधाज्ञा जारी गरिएको छ। सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा हिजो साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले आज अपरान्ह ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागी निषेधाज्ञा जारी गरेको हो ।
हिजो साँझ मूर्ति बिसर्जन गरेर फर्किने क्रममा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो। त्यसलगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो।
राति अबेर अवस्था सामान्य बनेपनि आज बिहानैबाट पुनः टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो।
तरपनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ। बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैनन् भने मलंगवाका पसल तथा बजार बन्द छन्।