काठमाडौं।कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिनुहुने भएको छ । हिजो सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सोही अनुसार कार्कीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिने र मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको हो । सर्वोच्चको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले कार्कीलाई मुख्यमन्त्री नियुक्ति गरि साँझसम्म शपथग्रहण गराउने तयारी भएको छ ।
मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेको तयारी छ । तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ। मेन्याङ्गोले कार्की नेतृत्वको सरकारमा यसअघि पनि मन्त्री भएर काम गर्नुभएको थियो ।
गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत प्राप्त गर्न नसकेपछी नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री हुनुभएको थियो । थपाको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।