काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बीपी विचारकै सारअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान जारी भएको बताउनु भएको छ।
बीपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा आज जननायक बीपी कोइराला स्मृति ट्रस्टले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको भन्दै बीपीको विचारलाई अन्यथा व्याख्या नगर्नसमेत आग्रह गर्नुभयो।
सोहि अबसरमा जनकपुरका डा. राजेन्द्र बिमललाई एक लाख एकहजार रुपैयाँ राशिको बीपी साहित्य सम्मान र रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई ५१ हजार नगद राशिको बीपी प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिएको छ। सम्मानसँगै सम्मानपत्र पनि प्रदान गरिएको छ।
राष्ट्रपतिबाट सम्मान ग्रहण गर्दै डा. राजेन्द्र बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर रहेको बताउनु भयो।