काठमाडौं।विभिन्न राजनीतिक दलका नेताहरुमाथि जनताको आक्रोश बढ्दै गएपछि उनीहरु चिन्तित बनेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सबै दलका नेताहरुले आफूहरु असुरक्षित भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
काठमाडौंको मध्यभाग भृकुटीमण्डपमा बुधबार कांग्रेसका सहमहामन्त्री एवं संविधानसभा सदस्य महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि सांसदहरु डराएका हुन् ।आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले नेतामाथि सांघातिक आक्रमण बढाएको भन्दै सांसदहरुले त्यसलाई प्रोत्साहन गर्न खोजिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आफ्नो पार्टीका नेतामाथि आक्रमण भएकोप्रति निन्दा गर्दै सन्कीले सन्किएर खुकुरी प्रहार गरेको भाष्य निर्माण गरी अपराधिलाई जोगाउने प्रयास भएको दाबी गर्नुभयो ।
नेकपा एमालेले पनि यो आक्रमणको विरोध जनाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेता असुरक्षित भएको घटनामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन माग गर्नुभयो । प्रतिपक्षका सांसदहरुमाथि विगतदेखिनै आक्रमण हुने गरेको भएपनि सत्ता पक्षलाई पनि आक्रमणकारीले नछोडेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महेन्द्र यादवमाथि भएको आक्रमण ज्यान मार्ने उद्देश्यले गरिएको दाबी गर्नुभयो । यो घटनालाई पूर्वतयारीका साथ आक्रमणकारीले योजना बनाएको उहाँले बताउनुभयो । यादवमाथि क्रूरतापूर्वक आक्रमण भएको बताउँदै उहाँले घटनाको भत्र्सना गर्नुभएको छ ।
आक्रमणकारी श्याम सापकोटाले यादवमाथि खुकुरी प्रहार गरिसकेपछि राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए । यो मुलुकलाई नेताहरुले कंगाल बनाएको उनको आशय थियो । यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं महामन्त्री धवलशम्शेर राणाले आक्रमणकारीको पार्टीसँग कुनै सम्बन्ध नरहेको बताउँदै कारबाहीको दायरामा ल्याउ माग गर्नुभयो । उहाँले राप्रपा हिंसामा विश्वास नगर्ने पनि दाबी गर्नुभयो ।
पछिल्लो समय नेताहरुको मुखनिर नमस्कार पछाडि तिरस्कार गर्ने प्रवृत्ति हाबी भएको छ । कैयौँ दलका नेताहरुले आफूहरुलाई जनताले चोर भन्ने गरेको पनि स्वीकारिसकेका छन् । यसरी जनताको आवेग बढ्दै जाने हो र नेताहरुको प्रवृत्तिमा सुधार नआउने हो भने मुलुक थप हिंसामा जाने खतरा बढेको छ ।