काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश नेतृत्वका लागी भएको मतदान सम्पन्न भएको छ । सहमति प्रयास विफल भएपछी अन्तिममा गरिएको मतदानमा कुल १ हजार ५ जना मतदातामध्ये ९६५ मत खसेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार ९६ प्रतिशत मत खसेको हो । बिहान पौने ९ बजे सुरू भएको मतदान अवधि दिउँसो सकिएको हो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै गणना सकेर रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।
यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले मंगलबार बिहानका लागि सारिएको थियो।
आगामी नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छ ।
उमेदवार कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य हुन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।