काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनु भएको छ। नेपाली कांग्रेस मेचीनगर समितिले धुलाबारीमा आयोजना गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै उहाँले जनतामा छटपटी र आक्रोश उत्पन्न भएकोले बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो।
उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्नेमा जोड दिनुभयो। महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै पनि कुनै नेताले भ्रष्टाचार गरेको फेला परे त्यस्तो पापको भारी पार्टीले बोक्न नसक्ने बताउनु भयो ।
उहाँले नेपाली कांग्रेसलाई रूपान्तरण गर्न विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताउनु भयो। आफू वरिपरि डुलेर चाकरी गर्नेलाई मात्रै चुनावमा टिकट दिने पुरानो प्रणालीले कांग्रेसमा निराशा बढेको थापाको आरोप थियो ।
पुराना र नयाँ राजनीतिक दलहरू मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको थापाको टिप्पणी थियो।