काठमाडौं । समाजवादी मोर्चाले आज गण्डकी प्रदेशमा सभा गर्दैछ । पोखरामा हुने आजको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन भएको पौडेलले जानकारी दिनुभएको छ ।
मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।