काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेता पौडेलले ललिता निवासलगायतका सबै भ्रष्टाचार र अनियमितता काण्डको छानबिन गर्नुपर्ने बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता पौडेलले संसद् र संसदीय दलमासमेत यो विषयलाई प्रवेश गराउन खोजिरहेको बताउनु भएको हो।
उहाँले भन्नुभयो,‘अहिले मेरो पार्टी सरकारमा छ। तर, पार्टीको सम्पूर्ण कुरामा मेरो कन्ट्रोल हुँदैन। त्यसैले बहस उठान गर्नु पनि ठूलो कुरा मान्नुपर्छ। हामीले संसद् र संसदीय दलमा यो विषयलाई प्रवेश गराउन खोजिरहेका छौं। उठाएका छौं। सबै भ्रष्टाचारका काण्डको छानबिन गरिनुपर्छ।’
पौडेलले ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तटस्थता देखाउन नसकेको आरोप लगाउनु भएको छ।
उहाँले भन्नुभयो, ‘ललिता निवासको नीतिगत निर्णय प्रक्रियामा आबद्धहरुलाई फेरि पनि छुट दिएपछि आम जनतामा अनेकन् असन्तुष्टि छाएको छ । निर्णय गर्ने व्यक्ति दोषी हुन्छ कि कार्यान्वयन गर्ने व्यक्ति ? जतिसुकै माथिल्लो तहको व्यक्ति भए पनि बयान लिनुपर्छ, दोषका आधारमा मुद्दा चल्नुपर्छ । यहाँ त तटस्थता देखिएन । विभेद गरेजस्तो देखियो । क्याबिनेटको मन्त्री दोषी हुने, अध्यक्षता गर्ने चाहिँ प्रधानमन्त्रीले चाहिँ अनुसन्धानमा आउनै नपर्ने स्थिति हुन्छ र ?’
प्रधानमन्त्री प्रचण्डले अहिले खोलिएका फाइल टुंगोमा पुर् याउनुभन्दा उन्मुक्ति दिन खोज्नु गलत भएको पौडेलले औंल्याउनु भयो। अर्को प्रसंगमा नेता पौडेलले कोशी प्रदेशमा सत्ताकेन्द्रित काम हुँदा आम जनतामा निराशा,व्यवस्थाप्रति अविश्वास र नेतृत्वप्रति घृणा बढाएको टिप्पणी गर्नुभयो।