काठमाडौं।धरानमा सामाजिक सद्भाव बिथोलिएपछि स्थानीय सरकारका प्रतिनिधिको भूमिकामाथि विभिन्न प्रश्न उठेका छन्। नेपालजस्तो बहुजातीय, बहुधार्मिक अनि विविधता भएको मुलुकमा सामुदायिक सद्भाव कायम राख्न जनप्रतिनिधिको भूमिका अहं हुने देखिएको छ।
गाउँपालिका राष्ट्रिय महासंघका संस्थापक अध्यक्ष होमनारायण श्रेष्ठले पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्म जिम्मेवार बन्नुपर्ने औंल्याउँनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘कोरोना महामारीका बेला जनताको सबभन्दा नजिकको सरकारका रुपमा स्थानीय तहले संकट मोचन गराएको सर्वविदितै छ। समाजलाई संयमित बनाउनुपर्नेमा भित्रभित्रै उचाल्ने र बाहिर वक्तव्यमार्फत एक लाइनमा सामाजिक सद्भाव आह्वान गर्नु गलत हो। यसले हिंसालाई नै मलजल गरिरहेको छ।’
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनुभएका श्रेष्ठले समाजमा महाविपत्ति र विभाजन ल्याउन विगतको ‘प्रचण्डपथ डक्ट्रिन’ ले काम गरेको आरोप लगाउनु भयो।
उहाँले भन्नुभयो, ‘मिलेर बसेको नेपाली समाजलाई प्रचण्डपथले नेवार बाहुल्य भएको ठाउँमा जाँदा नेवाः, तामाङ बाहुल्य भएको ठाउँमा पुग्दा तामसालिङ भन्दै जातजातमा विभाजन गर् यो । समयक्रममा हराउँदै गएको त्यो विचारले फेरि मुन्टो उठाउन थालेको हो कि भन्ने आशंका छ ।’