काठमाडौं। सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलको सहयोग मागेको छ। यो प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले विदेशी नागरिकहरूकोसमेत संलग्नता देखिएकाले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको हो।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभएको छ। गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ। सीआईबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ। सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।