काठमाडौं।नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको दुईवर्ष पूरा भएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विघटन भइसकेपछि एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीमाथि यो दुई वर्षमा धेरै चुनौति थपिँदै गएका छन् ।
बलियो संगठनात्मक संरचना नहुँदा पार्टीले दिनप्रतिदिन क्षति व्यहोर्नु परिरहेको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतान्तर बढ्दै जाँदा पार्टीले थप गति लिन सकिरहेको छैन । २०७९ सालको आम निर्वाचनमा राष्ट्रिय दल बन्न नसक्दा थप नेकपा एकीकृत समाजवादीको उदयमाथि नै प्रश्न उब्जिरहेको छ ।
विद्रोह गरेर गएको औचित्य पुष्टि हुन नसक्दा अध्यक्ष नेपालमाथि पार्टीभित्रैबाट दबाब कायम छ । उहाँ सिमित व्यक्तिको घेराबन्दीमा रहेको बहस पनि उठ्ने गरेको छ । एमालेका उपमहासचिव विष्णु रिमालले एमाले फुटाउनुको औचित्य पुष्टि हुन नसकेको दाबी गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी दलाली गरेर सत्तामा गएको आरोप लगाउँदै उहाँले बुझेका नेताहरु क्रमशः एमालेतर्फ सोझिएको दाबी गर्नुभयो ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विद्रोहको औचित्य पुष्टि हुन नसकेको स्वीकार गर्नुभएको छ । तत्कालीन समयमा पार्टी विभाजन अनिवार्य रहेको बताउँदै उहाँले केही सकारात्मक कामहरु भइरहेको पनि बताउनुभयो । पार्टीको आन्तरिक मतभेद र बहस सामान्य भएको बताउँदै खनालले आगामी दिनमा बलियो बन्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीको स्थापनालाई लिएर विभिन्न खाले टिप्पणी पनि हुने गरेका छन् । कतिपयले आवेगमा आएर गरिएको विद्रोह भनेका छन् भने कतिपयले समयको मागका रुपमा चित्रण गरेका छन् । यो दुई वर्षमा सरकारसँग नजिक रहेको पार्टीले जनताका मुद्धामा भने विशेष उपलब्धि हासिल गरेको देखिदैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार नेपालले विद्रोहको औचित्य पुष्टि गर्न सक्नुभएको छैन ।
मुलुकमा च्याउ उम्रिएझैँ स्थापना भएका पार्टीहरुले राजनीतिक भागबण्डा र लुछाचुँडीका कारण जनतालाई सही रुपमा डेलिभरी दिन सकिरहेका छैन । नेकपा एकीकृत समाजवादीले पनि आफ्नो औचित्यलाई पुष्टि गर्नका निम्ति उसको उपस्थिति बलियो हुन आवश्यक रहेको छ ।