काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको कालिका नगरपालिकाले मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिन अस्विकार गरेको छ। पालिकाले मोबाइल क्लिनिक सञ्चालनको लागी कानुन नभएको भन्दै अनुमति दिन अस्विकार गरेको बताएको छ ।
सोही क्षेत्र अर्थात चितवन क्षेत्र नं. २ का सांसदसमेत सभापनि लामिछानले नगर क्षेत्रका विभिन्न वडामा मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागेपछी पालिकाले स्वीकृत नदिएको हो ।
लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गर्नुभएको थियो। तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।
साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ ।नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताउनु भयो। यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उहाँको भनाइ छ।