काठमाडौं।अधिकांश स्थानीय सरकारका प्रमुखहरुले उपप्रमुखसँग पर्याप्त समन्वय नगर्नेको गुनासो बढेको छ। उपप्रमुखहरुलाई कानुनले अधिकार दिएपनि प्रमुखहरुले नदिने गरेको उनीहरुको आरोप छ। गोरखा नगरपालिकाकी उपप्रमुख सपना पुनले पनि अधिकांश प्रमखु वा अध्यक्षहरुले उपप्रमुख वा उपाध्यक्षहरुलाई हेप्ने गरेको आरोप लगाउनुभयो।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले कतिपय ठाउँमा दुई जनाका विचमा अति राम्रो सम्वन्ध भएपनि अधिकांश ठाउँमा असन्तुष्टि रहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,“मेयर तथा अध्यक्षहरुले उपप्रमु्ख तथा उपाध्यक्षहरुलाई सँगसँगै लैजानुपर्छ,उनीहरुलाई पनि सबै निर्णयमा सहभागी गराउनुपर्छ भन्ने नै ठान्नुहुन्न,उहाँहरुले एकलौटी गरिरहनु भएको छ।”
उपप्रमुख वा उपाध्यक्षले केही कुरा राख्दापनि उहाँहरुले सुन्नै नचाहने गरेको अनुभव उप्रमुख पुनको छ। उहाँले फरक फरक पार्टीको भएको अवस्थामा अझ बढी समस्या हुने गरेको पनि बताउनुभयो।
नेपाली सञ्चार माध्यमहरुले पनि उपप्रमुख वा उपाध्यक्षहरुको आवाजलाई उच्च प्राथमिकतामा नदिने र प्रमुख वा अध्यक्षलाई मात्रै महत्व दिने गरेको गुनासो उहाँले गर्नुभयो।
नेपाल नगरपालिका संघकी केन्द्रीय सदस्य समेत रहनु भएकी पुनले कतिपय प्रमुख तथा अध्यक्षहरुले एक हप्ताभन्दा बढी समय कार्यालय नआउँदा पनि उपप्रमुुख तथा उपाध्यक्षहरुलाई कार्यवाहकको जिम्मेवारी नदिने गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार उपप्रमुख र उपाध्यक्षहरुकै आग्रहमा नगरपालिका संघ र गाउँपालिका महासंघले हिजो संयुक्त वक्तव्य नै जारी गरेर कानुनी व्यवस्था अनुसार कार्यवहाकको जिम्मेवारी दिन निर्देशन समेत दिएको छ।