काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसदमा जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागी सर्वदलीय बैठक बोलाउनु भएको हो।
आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बिहान साढे ८ बजे शितल निवास बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
सुन प्रकरणलाई लिएर विपक्षी दल एमालेले गत साउन १० गतेदेखी निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ। सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गर्नुभएको थियो। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राष्ट्रपति पौडेलले अवरोध अन्त्यको प्रयास गर्नुभएको थियो ।
हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राष्ट्रपति पौडेललाई भेटेर संसद अवरोध अन्त्यका लागि पहल गर्न ध्यानाकर्षणसमेत गर्नुूभएको थियो ।
संसद्को गतिरोध हटाउने विषयमा हिजो प्रधानमन्त्री प्रचण्डले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो। हिजो बैठक निष्कर्षबिहिन बनेपनि प्रधानमन्त्रीको आह्वानमा बैठक आज पनि पुनः बस्दैछ ।