काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै किसिमका भ्रष्ट्राचार प्रकरणका फाइल खुल्नुपर्ने बताउनु भएको छ। आज भापामा नेपाली कांग्रेस शिवसताक्षी नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको भन्दै देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्ने बताउनु भयो।
महामन्त्री थापाले भन्नुभयो,‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ।’ चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, ‘२०८४ सालको निर्वाचनको चिन्ता होइन,२०८० देखिनै देशको अवस्था परिवर्तनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ।’
केही दल आगामी निर्वाचनमा जित हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै थापाले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।
महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थालेका टिप्पणीसमेत गर्नुभयो। कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर जनताको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।