काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘हाइ प्रोफाइल’ लाई नछुनेतर्फ सरकार किन लाग्यो ? भन्दै प्रश्न गरेको छ ।
संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो प्रश्न सोधेको जानकारी दिनु भयो। यद्यपी एमालेले सरकारले भोलिको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार लचिलो हुने विश्वास व्यक्त गरेको उहाँको भनाइ थियो ।
गिरिले भन्नुभयो,‘सुन प्रकरणमा राजनीतिक दलको पनि संलग्नता भएको कुराहरू आइरहेका छन्। यस्तोमा सीआईबीले अनुसन्धानका लागि बोलाउने स्थिति रहेन। यसमा मात्रै होइन नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा पनि हाइ प्रोफाइलका मान्छेलाई छानबिनमा नल्याउने साना मान्छेहरूलाई ल्याएर कारबाही गर्यौं भन्ने ढंगले अगाडि बढेको छ। त्यसैले हामीले समितिको माग राखेका हौं ।’
गिरिले बैठकमा प्रधानमन्त्रीले सीआईबीले गरेको अनुसन्धान प्रभावित हुनसक्ने भएकाले त्यो अनुसन्धान सकिएपछि समिति गठन गर्न सकिने धारणा राखेको जानकारी दिनुभयो। उहाँले आफ्नो कारणले संसद अवरोध नभएको दाबीसमेत गर्नुभयो।
उहाँले अब बस्ने संसद बैठकमा आफूहरूले मात्रै नभएर अन्य दलका नेताहरूलाई पनि बोल्न दिनेसम्म सरकार लचक हुनसक्ने बताउनु भयो। समितिको पक्षमा सरकार सकारात्मक रहेको उहाँको प्रतिक्रिया थियो ।