काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) शुल्क वृद्धि गर्ने निर्णयबाट पछि हटेको छ। सीटीईभीटीले तीनवटा विषयमा गरेको शुल्क वृद्धिको निर्णय रद्द गरेको हो।
सीटीईभीटी परिषद् कार्यालयको बैठकले शुल्क वृद्धिको निर्णय रद्द गरेको बताएको छ। यसअघि सरोकारवालहरूसँगको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने भन्दै शुल्क वृद्धिको निर्णय स्थगित गरिएको थियो ।
सीटीईभीटीले शैक्षिक २०८०/०८१ मा निजी कलेजका लागि प्रमाणपत्र तह नर्सिङ (पीसीएल नर्सिङ), प्रमाणपत्र तह सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी (असिस्टेन्ट फार्मासिस्ट)को शैक्षिक शुल्क बढाएको थियो।
असार २९ गते पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसीतर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क तालिका सीटीईभीटीले सार्वजनिक गरेको थियो।
मन्त्रीस्तरीय निर्णय र शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझावका अधारमा निर्णय गरिएको सीटीइभीटीको दाबी थियो। तर, सरोकारवालाहरूसँगको पर्याप्त छलफल र ठोस कानुनी आधारबिना शुल्क बढाइएको भन्दै चौतर्फी विरोध भएपछि सीटीईभीटी शुल्क वृद्धिको निर्णयबाट पछि हटेको हो ।