काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत असोज १५ गते सानेपास्थित पार्टी कार्यालयमा भएको परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको हो ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कोरोना संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।
संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिँदै नेता थापाले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजगता अपनाउन सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ ।
‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ’, उहाँले लेख्नुभएको छ, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।’
यसअघि, थापाका ससुरासमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।
