काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारीमा जुट्नु भएको छ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लाग्नुभएको हो।
राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले दिएको जानकारीअनुसार केहि दिनमै सर्वदलिय बैठक बोलाउने तयारीमा जुट्नु भएको हो।
‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले भन्नुभयो, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’
बैठक छिट्टै बोलाइने भएपनि मिति भने तय भइनसकेको थापाले बताउनु भयो । ‘सरसल्लाह गरेर मिति तय हुन्छ,समय त अरु नेताहरूको पनि मिल्नु पर्यो ।’ उहाँले भन्नुभयो ।