काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिने भएको छ। सीआइबीले यो प्रकरणमा विभिन्न समयमा भएका निर्णयहरुमा संलग्नता देखिएपछी उनिहरुसँग फरक फरक विषयमा बयान लिने भएको हो।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मन्त्रिपरिषद्बाट निर्णय गराएको भन्दै सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालसँग बयान लिन २१ साउनमा सीआईबीलाई आदेश दिएको थियो।
ती नेताहरुको पनि एकदुई दिनभित्र बयान लिइसकेर सीआईबीले अबको सात दिनभित्रै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनेछ। सीआईबी स्रोतले भन्यो,‘सम्भवतः एक दुई दिनभित्रै उहाँहरुसँग बयान लिने काम हुन्छ, उहाँहरुलाई सहज हुने ठाउँमै बयान लिइन्छ।’
सीआईबीले यसअघि पक्राउ परेका अभियुक्तहरुविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा म्याद थप्दैछ। उनीहरुको म्याद थप भइसकेपछि दुवै पूर्वप्रधानमन्त्रीहरुसँग पनि बयानको तयारी भएको हो।
सीआईबीले ललिता निवास प्रकरणमा अदालतबाट पहिलो म्याद लिएको बुधबार ५१ दिन पुगेको छ। ६० दिनभित्र यो मुद्दा अदालत लानुपर्ने बाध्यतामा सीआईबी छ।