काठमाडौं। सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरुको समेत संलग्नता भएको हुनसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग जारी राखेपछि आज बसेको संसद बैठकपनि आगामी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।
संसदको शुरुमा नक्कली शैक्षिक प्रमाणपत्र रहेको अभियोग लगाएर हिरासतमा राखिएका कांग्रेस सांसद सुनिल शर्मालाई सभामुख देवराज घिमिरेले बोल्ने समय दिनुभएको थियो। एकरात हिरासतमा बस्दाको सबै अनुभव सुनाउँदै सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको थियो। साथै,आतंककारी शैलीमा आफूलाई बिना प्रमाण पक्राउ गरिएको भन्दै उहाँले आमरण अनसन बस्ने समेत चेतावनी दिनुभयो।
सांसद शर्माले आतंककारी भनेको भन्दै माओवादीका प्रमुख सचेतक हीतराज पाण्डेले नियमापत्ती जनाउनुभएको थियो । प्रमुख सचेतक पाण्डेले शर्माले भनेको आतंककारी शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । यता, सभामुख घिमिरेले पाण्डेले बोलेको विषय नियमापत्ति नभइ प्रतिवाद, क्रोध मात्रै रहेको भन्दै रेकर्डबाट हटाउन आवश्यक नरहेको बताउनुभएको थियो ।
एमालेका सांसद मानबहादुर राईले पूर्वसभामुख कृष्णबहादुर महराका बाबुछोराको विषयमा आएको प्रकरणबारे प्रधानमन्त्री, गृहमन्त्री मौन भएको भन्दै आपत्ति जनाउनुभयो। यो सरकारले आफ्नालाई जोगाउने र निर्दोष फासाउने रणनीति लिएको उहाँको भनाइ थियो ।
आजको संसदमा प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी कायम राखेको थियो। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको भन्दै एमाले लामो समयदेखि आक्रामक बन्दै गएको छ। संसदमा एमालको अवरोध कायम रहेपछि सभामुख घिमिरेले आजका सबै कार्यसूची हटाउनुभएको थियो।
सरकारले भ्रष्टाचारका विरुद्ध निर्मम बन्ने बताइरहेका बेला माओवादीकै उपाध्यक्ष ९ किलो सुन तस्करी प्रकरणमा मुछिँदा समेत कानमा तेल हालेर सुतेको आरोप लागेको छ । माओवादीले आफ्ना पार्टीका नेताहरुलाई जसरी पनि बचाउने गरी काम गरिरहेको एमालेको आरोप छ ।
एमाले कांग्रेसका नेता विभिन्न मुद्धामा जेलमा रहँदा माओवादीका आरोपित नेता खुलेआम हिडिरहेका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा आफूहरुलाई बोल्न नदिएर हाइज्याक गरेको आरोप लगाएको छ । जनताका आवाज मुखरित हुने संसदलाई बन्धक बनाएको प्रति रास्वपाको आपत्ति छ ।