काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ ।
उच्चस्तरीय छानबिन समिति गठनको माग दलको बैठकमा केही नेताहरूले गरेपनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता नदेखिएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताउनुभयो।
ुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚’ उहाँले भन्नुभयो‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भएपनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।
कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्नुभयो । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राख्नुभएको थियो । सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन, थापाले बैठकमा भन्नुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको अर्का महामन्त्री शर्माको भनाइ थियो ।