काठमाडौं । नेपाली कांग्रेस सांसद सुनिल शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएकोबारे नेताहरुले प्रश्न उठाएका छन् ।
जारी संसदीय दलको बैठकमा सांसदहरुले पार्टीको अनुशासन विपरीत बालकोट गएर अभिव्यक्ति दिएको भन्दै प्रश्न उठाएका हुन् ।
आफ्नो बारेमा बैठकमा प्रश्न उठेपछि आफूलाई सहयोग गर्नेहरुलाई भेट्ने क्रममा आफू बालकोट गएको शर्माले बताउनुभयो। उहाँले बैठकमा प्रष्टीकरण दिँदै भन्नुभयो, ‘मैले मलाई सपोर्ट गर्नेहरुलाई भेट्नेक्रममा केपी ओली भेट्न गएको हुँ। मेरोबारेमा पार्टी सभापति, महामन्त्री, शेखर दाई सबैले मेरो पक्षमा बोल्नुभएको छ ।’
उहाँले आज बिहान बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने बताएका थिए । त्यसो त शर्माले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट व्याक हुन नसक्ने सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उहाँले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आउनुभएको थियो ।