काठमाडौं। प्रमुख प्रतिपक्षी एमालेले आज पनि प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध ग¥यो। क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै एमालेले लगातार बैठक अवरुद्ध पारिरहेको छ। एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन। जसका कारण आम सरोकारका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेको छैन ।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेका थिए ।त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिनुभएको थियो । एमाले सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरेका थिए। होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनु भएको थियो ।
सभामुख घिमिरेले नियमको पालना गर्न आग्रह गरिरहनु भएको थियो । तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताउनु भएको थियो।
उहाँले पटक पटक नियमित कार्यसूचि अन्तर्गत बैठक सुचारु गर्न आग्रह गरिरहनु भएको थियो। एमाले सांसदहरुले नारावाजी गरिरहे। संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिनु भएको थियो।
राष्ट्रिय सभाको बैठकमा पनि आज सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन्। आजको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए। तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठक अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाएका थिए ।
सत्तापक्ष र प्रतिपक्ष दुवै उठेर विरोध जनाउन थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बस्न आग्रह गर्नुभएको थियो । राष्ट्रिय सभाको आजको बैठकमा एमाले सांसद विमला राई पौडेलले उच्च स्तरिय छानविन समिति बनाउदा भुईचालो नजाने तर्क गरिरहनुभएको थियो ।
सुन तस्करीका विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको एमालेले बैठक अवरुद्ध पारिरहेको छ।अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो।
एमालेको दबाबपछि प्रधानमन्त्री प्रचण्डले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान रोकेर सीआईबीलाई दिनुभएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आजै संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराउनु भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास जानुभएको थियो। आधाघण्टा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राख्नु भएको थियो ।