काठमाडौं। साउन १० यता नेकपा एमालेले प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ। आज पनि प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि र राष्ट्रिय सभा बैठक चल्न दिएन। साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभागले गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ। एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।
एमालेको अवरोधपछि आज प्रतिनिधिसभा बैठक स्थगित भयो। आजको बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताउनु भएको थियो। त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए ।
सभामुख देवराज घिमीरेले थापाले बोलिरहेका वेला अरु सांसदलाई बस्न आग्रह गरिरहनु भएको थियो । सभामुख घिमिरेले संसद्को कार्यसूची अगाडि बढाउनका लागि सहयोग गर्न र अन्य सांसदका कुरा सुन्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।एमालेको अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधिसभा बैठक साउन २६ सम्मका लागि स्थगित गर्नुभयो ।
राष्ट्रिय सभाको बैठकमा पनि आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। अवरोधका कारण आजको लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेनन् ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाउनु भएको छ।
आजकोे राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए। एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताउनुभयो।
समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए। तिमिल्सिनाले एक पटकमा एक जना मात्र बोल्नु भन्दै आग्रह गरिरहनु भएको थियो।
तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न माग गर्दै एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता पनि गर्नुभएको छ।
संसद नचलेका कारण संसदीय समितिका सभापति चयन लगायतको प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन। भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठारो पार्न सक्ने भनी शीर्ष नेताहरुको समेत ध्यानाकर्षण गराउनु भएको छ।
प्रतिनिधिसभाको हिजोको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको जवाफ दिनुभएको थियो। तर जवाफ चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आज पनि दुवै संसदमा अवरोध गरेको हो।