काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ। अवरोधका कारण आजका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन ।
एमालेको अवरोधपछी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाउनु भएको छ । आजको बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए।
समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।
एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताउनुभयो ।यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।
अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।