काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले मात्रै बन्धक बनाएको भन्दै आपत्ति जनाउनु भएको छ । आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको आरोप लगाउनु भएको हो ।
उहाँले समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाउनु भयो। सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै अध्यक्ष लिङ्देनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताउनु भयो।
देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उहाँको भनाइ छ । प्रतिपक्षी दल मात्र नभएर सरकार पनि संसद नचलोस् भन्नेमै रहेको उहाँले आरोप लगाउनु भयो ।