काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्नेमै जोड दिएको छ ।
संसद बैठकको सुरुमै बोल्दै एमालेका सचिव तथा सांसद योगेश भट्टराईले उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गर्दै छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गर्नुभयो ।
उच्चस्तरीय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाइ भोटिङ गराउन भट्टराईले माग गर्नुभयो ।‘सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिन्छ’, उहाँले भन्नुभयो। प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले भन्नुभयो,‘हाम्रो पार्टीले संसदमा कुरा उठायो ।
त्यसमा प्रतिपक्ष दलका सबै दलहरू रास्वपाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ। राप्रपाका माननीयहरूले ध्यानाकर्षण जनाइराख्नुभएको छ। सत्तापक्षकै सांसदहरूले पनि संसद र बाहिर बोलिरहेकाले छानबिन समिति चाहिन्छ भनेर राष्ट्रिय सहमति बनिसकेको छ ।’
उहाँले सार्वजनिक लेखा समितिले पनि छानबिन समिति गठन गर्न ध्यानाकर्षण गरिसकेको स्मरण गराउनु भयो ।