काठमाडौं। नेपालमा सुन तस्करीले रेकर्ड कायम गर्दै गएको छ। करिब क्विन्टल सुन प्रकरणदेखि अहिलेसम्म आइपुग्दा यसको सत्यतथ्य छानबिनमा समेत शंका पैदा हुन थालेको छ। तत्कालीन राजा महेन्द्र शाहले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाएदेखि सुन ओसारपसार भइरहेको तथ्य देखिन्छ।
तत्कालीन समयमा झिटीगुन्टाबाट शुरु भएको तस्करी स्कुटीको ब्रेक शूसम्म आइपुगेको छ। कांग्रेस नेता उदयशम्मेर जवराले पनि पञ्चायतकालदेखि नै यो मुलुकमा सुन तस्करी भइरहेको बताउँदै उच्चस्तरीय छानबिन समिति आवश्यक रहेकोमा जोड दिनुभयो।
३३ किलो सुन प्रकरण सेलाउन नपाउँदै नेपाल तस्करीको ट्रान्जिट प्वाइन्ट रहेको रहस्य खुल्न थालेको छ। तत्कालीन बिकिनी किलर चाल्र्स शोभराजले नेपालको एअरपोर्टमा हात्ती प्रवेश गराउन सक्छुँ भनेको विषयले अहिले चरितार्थ भइरहेको छ।
एमाले नेता ऋषिकेश पोखरेलले पनि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित रहेको भन्दै प्रचण्ड सरकारले सुन तस्करी प्रकरणमा कसैको दबाबमा नरही स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताउनुभयो।
नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले सुन तस्करी प्रकरणलाई नेपाल प्रहरीको जिम्मा लगाउनुपर्ने बताउनुभयो। प्रहरीले नै यसको निष्पक्ष छानबिन गर्नसक्ने उहाँको दाबी छ । गृहको मातहतमा विमानस्थल र प्रहरीको ड्युटी परिचालन हुने भएकोले यसमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ।
यता,राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिनुभयो।
४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो। २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो।
हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन्। सुन तस्करीको हब नेपाल बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय जगतमा बदनाम भइरहेको छ।