काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ । हिजो भएको टेलिफोन सम्वादमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीलगायतका विषय कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी गराएको छ।
सो क्रममा नेपाल–भारतसम्बन्धलगायत विविध विषयमा छलफल भएको उल्लेख छ। प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको हो।
छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएका थिए।
यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो। भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ।