Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ जना नेपाली बेपत्ता

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ जना नेपाली बेपत्ता

  • शुक्रवार, श्रावण १९ २०८०

  • 1.6K
    SHARES

  • भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर १७ जना नेपाली बेपत्ता
    काठमाडौं । भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्। 
     
    केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुरिएको छ। उक्त ठाउँमा १३ जना पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएका १३ जनामध्ये ८ जना नेपाली रहेको भन्ने विवरण प्राप्त भएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्पकरसिंह धामीले जानकारी दिएका छन्। 
     
    पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा ढावा (होटेल) पनि बगाएको छ। केदारनाथ यात्रामा रहेका यात्रीहरू खाना खाने बेला पहिरो गएको बताइएको छ। 
     
    पहिरोमा परेर कर्णाली प्रदेश घर भएका हरि बहादुरसहित उनको परिवारका सदस्य बेपत्ता भएका छन्। उनले पहिरो गएको ठाउँमा होटेल सञ्चालन गरेका थिए। पहिरोमा परेर हरि बहादुरसहित उनका छोरा वीर बहादुर, पत्नी सुमित्रा, छोरी निशा पनि बेपत्ता भएका छन्। 
     
    जिल्ला विपत् प्रबन्धन अधिकारी नन्दन सिंह जरवारलाई उद्धृत गर्दै भारतीय पत्रिका जागरणले लेखेअनुसार हरि बहादुरको होटेलमा खाना खान आएका कर्णालीको जुम्ला घर भएका मुन बहादुर बुढा र उनका छोरा धर्मराज बुढा पनि बेपत्ता भएका छन्। यस्तै, जुम्ला नै घर भएका लाल बहादुर कामी, चन्द्र कामी, सुखराम राउत र उनका छोरा जोरा राउत पनि बेपत्ता भएका बताइएको छ। 
     
    यस्तै, नेपाली नागरिक मानबहादुर बोहरा, उनका छोरा अमर बोहरा, श्रीमती २६ वर्षीया अनिता बोहरा, छोरी १४ वर्षीया राधिका बोहरा, छोरी ८ वर्षीया पिंकी बोहरा, छोरा ७ वर्षीया पृथ्वी बोहरा र छोरा ६ वर्षीया जटिल बोहरा पनि बेपत्ता भएका जनाइएको छ। उनीहरूको नेपालको स्थानीय ठेगाना भने खुलेको छैन। 
     
    केदारनाथ जाने मार्गमा गएको पहिरोमा परी हालसम्म १७ जना नेपाली नागरिक बेपत्ता भएका विवरण प्राप्त भएको छ। तर नेपाल सरकारले भने त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। 
     
    पहिरोमा पुरिएर हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। बेपत्ता १९ जनाको खोजी कार्य जारी रहेको बताइएको छ।
     
    भारी वर्षासँगै केदारनाथ जाने बाटोको धेरै ठाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारी वर्षाका कारण उद्धार कार्यमा पनि कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्। 
     
    वर्षासँगैको बाढी र पहिरोका कारण केदारनाथ यात्रामा रोक लगाइएको छ। मौसम सामान्य भएपछि मात्रै याखा खोल्ने निर्णय लिइने स्थानीय प्रशासनका अधिकारीले जनाएका छन्। 


    शुक्रवार, श्रावण १९ २०८००७:४४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij