काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ ।
वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत बताउनुभयो ।
‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले’, ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’
उहाँले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताउनुभयो । उहाँले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताउनुभयो। उहाँले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताउनुभयो। अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताउनुभयो ।