काठमाडौं।नेपालको संसद बेलाबखतका विभिन्न काण्डको चेपुवामा पर्ने गरेको छ। कहिले प्रधानमन्त्रीको अभिव्यक्ति, कहिले तस्करीका काण्ड । यसको प्रमुख मारमा सदन नै बन्ने गरेको छ । करिब ७ महिनादेखि चलिरहेको संसद कहिले बिजनेश विहीन बन्यो भने कहिले सत्तापक्ष र प्रतिपक्षको आरोपप्रत्यारोपको थलो। प्रधानमन्त्रीको भारत भ्रमणपछि संसदमा देखिएको दृष्य त लाजमर्दो नै भयो ।
कति दिन त मुर्रा भैँसीले ठाउँ लिए भने कतिदिन प्रधानमन्त्रीलाई छिमेकीले गरेको व्यवहारमा सांसद बोलिरहे । यति लामो समयसम्म चलेको संसदले एक–दुई विधेयक बाहेक अरु प्रगति गर्न सकेन । पछिल्लो समय क्विन्टलका हिसाबले भित्रिएको अवैध सुनका कारण संसद अवरुद्ध हुँदै आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन नहुञ्जेल संसद चल्न नदिने अडान लिएपछि आजको बैठक स्थगित भयो । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटले पनि संसद खुलाउन सकेन । एमाले प्रमुख सचेतक पदम गिरिका अनुसार पछिल्लो समय देखिएका तस्करी, भ्रष्टाचारका घटना कहिल्यै पनि नदोहरिने गरी छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आवश्यक छ ।
सरकारले भ्रष्टाचारविरुद्ध चालेको अभियान जुनसुकै नियतले भएपनि यसको नतिजा आउनसम्म सबैले साथ दिनुपर्ने एकथरीको तर्क छ । पछिल्लो समय भएको सुन तस्करीमा सरकारले चाँसो दिएकै कारण तस्कर पक्राउ परेको कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको तर्क छ । उहाँले सरकारले गरेका कामप्रति आलोचना गरिहाल्नुपर्ने समय भइनसकेको तर्फ इंगित गर्नुभयो ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो दबाबका कारण मात्रै पुराना भ्रष्टाचारको फाइल खुल्न थालेको दाबी गर्नुभएको छ । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गर्नुभयो । भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताउनुभयो ।
विभिन्न वहानामा जनताका आवाज बोल्ने र कार्यान्वयनमा ल्याउने थलो संसद नै बन्धक बन्ने गरेको छ । भ्रष्टाचारका फाइल खोलिनु, तस्कर समाइनु आश गर्ने पक्ष भएपनि अनुसन्धानको पाटो कतिको बलियो छ भन्ने विषय प्रधान हो । भ्रष्टाचारमा होस् वा सुन तस्करीमा राजनीतिक पहुँच भएका र त्यसको छत्रछाँयामा रहेकाहरु भने अहिले पनि बिन्दास देखिन्छन् ।