काठमाडौं। मदेश प्रदेशमा जनमत पार्टीका बिना विभागीय दुई मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्रीले मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाएपछि जनमतका वसन्त कुमार कुशवाहा र राज्यमन्त्री संजय कुमार यादवले पार्टीको निर्देशनमा मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।
भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय कुशवाहाले सम्हालेकोमा जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गर्नुभएको थियो। त्यसयता दुवैजना बिना विभागीय मन्त्री बन्नुभएको थियोे ।
दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ। जनमत पार्टीबाट मधेश प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री थिए । एसैगरी आजै साँझ ५ बजे मन्त्रिपरिषद पनि विस्तार गरिने भएको छ ।