काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिनु भएको छ। आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको आरोप लगाउनु भयोे।
सात महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भन्दै उहाँले भन्नुभयो,‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो,तर ३ महिनासम्म हुन सकेको छैन ।’
भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उहाँले आफूहरुले कुनै बार्गेनिङ नगरेको दाबि गर्नुभयो। ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ सचिव भट्टराईले भन्नुभयो, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ। बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’
यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत एमाले सांसद भट्टराईले बताउनु भयो। सत्ता पक्षको झै–झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उहाँले भन्नुभयो, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’