काठमाडौं।नेपाल सदभावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ। आज र जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकता घोषणा गरिएको हो। सदभावना पार्टीका अध्यक्ष रामकुमार महतो र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।
दुवै नेताले जारी गरेको संयुक्त विज्ञिप्तमा आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै हुनेछ। त्यस्तै, झण्डा, चुनाव चिह्न, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै प्रयोग गरिने भएको छ।
त्यसैगरि केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै नेता चौधरीले मधेश र थारुको मिलनबाट मात्रै उत्पीडित वर्गको अधिकार प्राप्त हुने भएकाले एकीकरण गरिएको बताउनु भयो। त्यस्तै, सदभावना पार्टीका अध्यक्ष महतोले मधेशी जनताको अधिकारको लागि छुट्टाछुट्टैभन्दा पनि एकीकृत भएर लड्न एकीकरण गरिएको बताउनु भयो ।