काठमाडौं। सुन तस्करी प्रकरणले सरकारमाथि दवाव झन् झन् बढिरहेको छ। सोे प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवैले राजिनामा दिनुपर्ने विपक्षी दल लगायत र सत्तापक्ष दलले नै माग गरिरहेको अवस्था रहेको छ ।
नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाही सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिँदा राम्रो हुने बताउनुहुन्छ।
उहाँले विभागीय मन्त्री भएको नाताले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले उक्त घटनाको जिम्मा लिनुपर्ने बताउनु भएको हो ।
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेल एयरपोर्टबाट एक क्विन्टल सुन तस्करी भएको विषयमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुहुन्छ ।
उहाँले यो नैतिकताको प्रश्न भएकाले राजीनामा दिइहाल्नुपर्छ भन्ने होइन तर सुनकाण्डको छानबिनमा तदारुकता नदेखाइनु चिन्ताजनक भएको टिप्पणी
गर्नुभयो ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुक र जनताको हितभन्दा पनि निजी हित र स्वार्थमा लागिरहेको आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री के के न गर्न खोजेजस्तो होहल्लामा मात्र लागेकाले पूर्णतः असफल भइसकेको टिप्पणी गर्नुभयो ।
नेता बस्नेत एक क्लिन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने औंल्याउनुहुन्छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन काण्डको जरैसम्म पुगेर अनुसन्धान गर्न माग गर्नुभएको छ।
जुन ढंगले सुन आएको छ त्यो हेर्दा मालिक सानोतिनो नभएको भन्दै लामिछाने धेरै ठुलो मालिक देख्ने बित्तिकै सरकार अर्को फाईल खोल्न लाग्ने होकि भन्दै यो शंकाको बिषय भएको बताउनुहुन्छ ।
रास्वपा लगायतका दलले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाउँदै सेटिङ विना यत्रो सुन विमानस्थलबाट बाहिर आउनै नसक्ने दाबी गरिरहेका छन् ।
यसरि सुन प्रकरणमा सरकारले अनुसन्धान जरैसम्म गर्नुपर्छ र मुख्य नाईके पक्राउ गर्न सक्नुपर्छ । ताकि यो काण्ड यत्तिकै सेलाएर नजाओस् ।