काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजेको भन्दै आलोचना गर्नुभएको छ। आज (शनिबार) रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई भक्तपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेको होकी भन्ने आशंका भएको बताउनु भयो।
लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुर्याई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खवरदारी गरिरहेको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, ‘बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको होकी भन्ने आशंका उत्पन्न भएको छ। ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिन्थ्यो। तर त्यसो गरिएन।’
लामिछानेले अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलो व्यक्ति हुने आशंका रहेको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘बीच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ? हामी सुनका मालिक हेर्न बसेका छौं।’
सभापति लामिछानेले रास्वपालाई बेलाबेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारी बाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो ।
उहाँले वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्दै छाड्दै गरेको उल्लेख गर्नुभयो। लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरी जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरि अनुसन्धान गर्ने दावी गर्नुभयो।