काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्न सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान दुई दलका नेताबीच छलफल भएको थियो । ‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् ।
सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पुर्याउनु पर्छ भन्ने भएको छ,’ बालुवाटार स्रोतले जानकारी दिएको छ।
सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेन ।कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन । ‘उद्धव थापालाई नै बनाउने कि अर्को व्यक्ति बनाउने टुंगो लाग्न सकेन,’ बालुवाटार स्रोतले भनेको छ।
मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको स्रोतको भनाइ छ । मुख्यमन्त्रीको सन्दर्भमा पुन छलफल गर्ने सहमति बनेको छ । साथै, बैठकमा राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको छ ।
थप छलफलका लागि आज पुनः वा भोलि बैठक बस्ने नेताहरूबीच सहमति बनेको छ । आज भोलि नै राप्रपासँग पनि छलफल गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूणर्बहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी हुनुहुन्थयो।